Monday, June 29, 2009

मुख ढाकेर सुत्नेहरुलाई

साथी
मुख ढाकेर किन सुते को
हवालाई आउन देऊ
उजालो पस्न देऊ

झ्याल ढोका बंद गरेर बस्ने किन
हेर त उता रातो गोलो सूर्यको
झल मल्ल पार्छ कि तिम्रो संघार
बद्ली गर्दछ कि तिम्रो संसार

मुख ढाकेर न सुत
कुन्नि को आफन्त आई पुग्ला
मीठा मीठा मायाका कुराले
वास माग्न पुगे सरि

कुनै आगंतुकको प्रतीक्षामा बस्नु राम्रो
दैलो तर्फ़ आंखा गाडेर
मुख ढाकेर न सुत, न सुत ......

मेरो जय र पराजय


आज वितरण गर्न चाहन्छु
आफ्नो पराजयलाई
बाँड्न चाहन्छु आफ्नो नराम्रो समय
तर को आउला र खै ........
कोई पनि आएन
बाटो हेर्दा हेर्दै रात पर्यो


आफ्नो जयलाई बाँड्न खोजेको त
लामो क्यू लाग्यो
मुस्कान
हाँसो र सुकिला वस्त्र र आभूषणमा सुसज्जित लस्कर
मेरो द्वारमा उभिएको थियो
उदाउँदै गरेको सूर्यलाई अन्खोरा मा पानी चढाएझैं !

Tuesday, June 23, 2009

माया

बहुतै धेरै माया पनि न राम्रो
थचल्किन्दो रहेछ

आसूँ को भल बग्दो रहेछ
भिज्नुपरदो रहेछ
आफ्नै जालमा परेको माकुरा जस्तै
भोग्नु परदो रहेछ

हल्ला

यति धेरै हल्ला हुन्छ हिजाज
फगत कोलाहल
हलाहल

मान्छेको हल्ला
मशीनको हल्ला

त्यसैले सुनिदैन हिमगिरी पग्लेको स्वर
बम पडकेको ध्वनि
दरिद्र सर्वहाराको चित्कार
हिमाल रोएको आवाज
माटोलाई छेदेर सुन र खनिज निकाल्दा
धरती आमालाई भएको पीडा
हृदयविहीन भयेर
ठूला ठूला रूखहरु काटेर फाल्दा हुने असह्य चोट

हामीलाई हल्ला हैन
शान्ति चाहिन्छ अब!

Thursday, June 18, 2009

वस्त्र

सुपर बजारमा
सुपर पसलहरुमा
मूर्तिलाई वस्त्र

तर
तिनै दोकानमा
चहारी रहेका
सजीव नारीलाई
मन पर्छ
हुनु लगभग निर्वस्त्र

Wednesday, June 10, 2009

विचार लहरी

हिजो एकजना मान्छे

मेरो घर पस्यो

अतीतका सबै स्मृतिहरु पोको पार्यो र

कता हो कता अंतर्ध्यान भयो एक्कासी

आहा ..... त्यो मान्छे ता अरु कोही होइन

मेरो आफ्नै मनको उडान रहेछ

बेला अबेला आइलाग्ने विचारको लहर

जसमा लुप्त हुँदै जान्छ विगतका मीठा नमीठा पलहरु

Sunday, June 7, 2009

मान्छे मान्छेमा

मान्छे मान्छेमा
केही फरक छैन
फगत रोटी; कपडा र घरको व्यथा
कोही खीर त कोही चना चबेना मा गुजर
कोही फुटपाथ मा बसर त कोही अट्टालिका को बगर
कोही करोड़ मा खेल्छन
त कोही खेल्छन सिक्का मा चित पट गर्दै

तर जीऊ मा बग्ने रगत एक छ
माया गर्ने मुटु
समस्त शरीरिक प्रक्रिया एकै छ
छाला गोरो होस वा कालो
एकै छ अंग अंग

भेद जन्मन्छ
न बुझिकन
द्वीप भएर बसने इच्छा गर्नेहरुको ठुलो जमात भएका हुनाले !

Thursday, May 28, 2009

के राम्रो नराम्रो

राम्रो नराम्रो सबै फगत नाटक
मृगतृष्णा जस्तो

आज जे राम्रो छ
भोलि तेहि नै नराम्रो
आज जे नराम्रो, भोलि तेहि राम्रो
सबै को आफ्नो परिभाषा

जति मान्छे उति नै विचार
हवा को दिशा मा बगिरहन्छन सबै
पत्ता झैं बरालिरहन्छन सबै


Thursday, May 21, 2009

देश

देश मान्छे ले बन्छ
तिमी ले बन्छ
उसले बन्छ
हामी ले बन्छ
देश पहाड़, खोला- नदी, सड़क ले बने पनि
केही फरक पर्दैन
यदि हामी सबै छैनौ भने

तेसैले
तिमी- हामी - उनिहरु .....
हामी सबै को अस्तित्व जरुरी छ
हिमाल लाई हिमाल भन्ने को हो ?
तिमी- हामीनै त हौं ........!

Saturday, May 16, 2009

मोटो छाला भएको मान्छे

मोटो छाला भएको मान्छे भारियेका छन हिजाज
येसै कारण ले गर्दा
तिम्रो कुरा ठोक्कियेर फ़र्किन्छ
तिम्रो माया र मुटु चर्कियेर टुक्रिन्छ
कता हो कता पुग्छ भावुक भएर खायेका वाचाहरू
अनि तिमी म जस्तै पर्खाल बनेर बस्दछौ .......!

Wednesday, April 29, 2009

ज़िन्दगी एक ऐना हो

ज़िन्दगी एक ऐना हो
यसको कुनै रूप छैन
यसको कुनै रंग छैन
जस्तो तिमी छौ
उस्तै छ यो .....
एक दिन यो चकनाचूर हुने छ
वा यसमा झुर्रीपरे जस्तै दागे दाग हुने छ
मुटु जस्तो कमलो
प्राण न भये पनि जीवंत
यो ऐना
पल पल को तस्वीर
एक ग़ज़ल
जसमा स्वप्न सुंदरी को वास हुन्छ
त कहिले सड़क को छेउ मा बसेर
हज्जामले येस्लाई प्रयोग गरि रहेको हुन्छ
आफ्नो पेट चलाउन

Gham

घाम लागे को बेला
एक्कासी
हावा चलेसरि
रेगिस्तान को हरियो पाटो
मेरो सामु आउँछ
अनि

फेरि बाट सकिय हुन्छु
केही गरुँ, केही नयाँ काम थालुँ
भन्दा भन्दै
जिन्दगीका १८९८० दिन बीती सके
अंततः फगत शुन्य शुन्य शुन्य
तेही चौरास्ता म उभिएको छु
दुलियाजान तेल नगरी मा जुन्किरी बोकेर बेच्न संघर्ष गरे झै!

Sunday, April 26, 2009

रेगिस्तान को व्यथा

बालुवा को ड़ंगुरमा
भास्सिनु नै धर्म
अनि बालुवा को मुलुक लाई अंगालो हालेर बस्नु जीवन क्रिया
न पानी
न हरियोपना
फगत फुस्रो र तातो हवा
सुके को नदी को व्यथा
घुम्दा घुम्दै बातो गएको वेदना जस्तो सम्मो चउर
- होम बहादुर क्षत्री / कुवैत
बिजुली
कालो हिजाब भित्र
बिजुली लुकाएर
कुवैती नारी
बी ऍम डब्लू चलाई रहेकी छ
सड़क को घाम लाई ताप दै!
- होम बहादुर क्षत्री

स्पंदन - अप्रैल/ मे/ जून २००९ अंक प्रकाशित

ज़िन्दगी एउटा गीत हो भने खै
कता छ संगीत
कहाँ छ सिम्फोनी
.... म ता देख्दछु कोलाहल र
हलाहल !
- होम बहादुर क्षेत्री